बिर्तामोड, फागुन २८ । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ ।

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ ।
यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ ।
इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजार पठाउने घोषणा गरे पनि बजारमा देखिएको त्रास कम हुन सकेको छैन ।
विज्ञहरूले यसलाई केवल ‘अस्थायी राहत’ भनेका छन् र जबसम्म आपूर्तिमाथिको खतरा रहन्छ, मूल्य उच्च नै रहने बताएका छन् ।
तेलको मूल्यवृद्धिको असर विश्वभरि देखिन थालेको छ । अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स, थाइल्यान्ड जस्ता एसियाली देशमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ ।
ऊर्जा संकट ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने र घरबाट काम गर्नेजस्ता उपाय अपनाउन थालेका छन् ।


