
बिर्तामोड, फागुन २८ । क्रोएसियामा भएको सडक दुर्घटनामा एकजना झापालीसहित दुईजना युवाको मृत्यु भएको छ । झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।
रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।
तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।
उनले भने, ‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पु¥याउन ६ हजारभन्दा बढी युरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’
शव नेपाल पु¥याउनका सहजीकरणका लागि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेको तामाङको भनाइ छ ।
बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।


