
बिर्तामोड, चैत २ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा अध्ययनरत दुईजना बालिका बेपत्ता भएका छन् । घरबाट विद्यालय हिँडेका उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा कक्षा ९ मा पढ्ने अर्जुनधारा-५ का इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँ बस्ने विनोद कर्मकारकी छोरी १५ वर्षीया दृष्टि कर्मकार रहेका छन् ।
उनीहरु हिजो बिहानदेखि बेपत्ता भएका हुन् । उनीहरु विगत दुई वर्षदेखि अर्जुनधारा-५ कञ्चनबारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका थिए । दुवैजनाका बुवाआमा वैदेशिक रोजगारीमा रहेका छन् ।
हिजो बिहान ८ः१५ बजे घरबाट विद्यालय जान्छौँ भनी हिँडेकोमा विद्यालय समेत नगएको र जान सक्ने सम्भावित ठाउँमा खोजी गर्दा फेला नपरेपछि घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।
प्रहरी टोली खटिएर बालिकाहरुको खोजतलास तथा थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । विद्यालयले पनि उनीहरुको खोजी सुरु गरेको जनाइएको छ ।




