
बिर्तामोड, चैत ३ । नेपाल राष्ट्र बैंकको आह्वानमा मनाइँदै आएको ग्लोबल मनी विक् २०२६ को अवसरमा बिर्तामोडका बैंक तथा वित्तीय संस्थाहरूले प्रभातफेरी निकालेका छन् ।
स्मार्ट मनी टल्क्स् भन्ने मूल नारासहित बिर्तामोडमा निकालिएको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रममा बिर्तामोडमा अवस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका झन्डै २५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि, बचत संस्कृतिको विकास, डिजिटल बैंकिङको प्रयोग, जिम्मेवार खर्च तथा उचित लगानीसम्बन्धी सन्देश प्रवाह गर्दै बिर्तामोडको विभिन्न स्थानको परिक्रमा गरेका थिए ।
सन् २०१२ बाट सुरु भएको ग्लोबल मनी विक् क्याम्पियन हाल विश्वका १७० भन्दा बढी देशहरुमा हरेक वर्ष विशेषत किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वित्तीय साक्षरताको विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने गरिन्छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै एक्सेल डेभलपमेन्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले वित्तीय साक्षरता कार्यक्रमहरुले विशेषगरी युवावर्गमा स्वस्थ वित्तीय बानीको विकास गर्ने, वित्तीय अनिश्चितताहरुसँग सजग रहने तथा भविष्यका वित्तीय योजनाहरु निर्माणको निम्ति सचेतना जगाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।




