२०८२ चैत्र ४ बुधबार
Jhapa Today
Adv top

इलामको पाथिभरा मन्दिरमा तीन वर्षमा नगद पौने चार करोड भेटी


बिर्तामोड, चैत ४ । झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा रहेको पाथिभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोडभन्दा बढी भेटी र ८ तोला सुन संकलन भएको छ ।

सानो पाथिभरा मन्दिरको नामले परिचित यो मन्दिरमा भक्तजनले चढाएको भेटीबापत चार करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको हो ।

त्यस्तै, यो अवधिमा ८ तोला १२ आना १ लाल सुन पनि संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए ।

त्यस्तै, ३०७ तोला चाँदी, एक हजार ३७ केजी काँसको घण्टी, ५३२ केजी तामाको त्रिशूल, १०६ केजी तामाको लोटा, २९१ केजी तामाको दियो, १११ केजी तामाको माना–पाथी, २२ केजी पित्तलको थाली/प्लेट/बत्ती र २८ केजी झर्के थाल/लोटा संकलन भएको अध्यक्ष स्याङ्बोले बताए ।

२०७९ फागुन १ गतेबाट रोङ गाउँपालिकाले पाथिभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर गाउँपालिकाले यो मन्दिर सञ्चालन गर्दै आएको छ ।

उक्त मन्दिरबाट संकलन भएको भेटी गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुँदै आएको अध्यक्ष स्याङ्बोले बताए । उक्त आम्दानी र त्यसमा गाउँपालिकाबो बजेटबाट थप गरेर गाउँपालिकाबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत पूर्वाधार, विकास र संरक्षणमा लगानी गर्दै आएको उनले बताए ।

यो मन्दिर २०७९ अघि गैरसरकारी संस्थाबाट सञ्चालन हुँदै आएको थियो । उक्त समयमा मन्दिरबाट संकलन भएको भेटी अनियमितता भएको भन्दै रोङ गाउँपालिकाले प्रश्न उठाएको थियो ।

रोङ गाउँपालिकाले ताकेता गरेपछि त्यस समयमा जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको थियो । छानबिनको क्रममा ८८ लाख हिनामिना भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।

उक्त प्रतिवेदनमा चित्त नबुझेको भन्दै पुरानो समितिले उच्च अदालत विराटनगर, इलाम इजालसमा रिट दायर गर्‍यो । उच्च अदालतले उक्त समितिलाई सफाइको मौका नदिई असुल उपरको ताकेता गरेको भन्दै रिट जारी गर्‍यो ।

त्यसपछि सफाइको प्रमाणको आधारमा पुनः प्रमाणलाई अध्ययन गरी हुन आउने रकम असुल गर्न अदालतले साउन २७ गते आदेश दिएको थियो । उक्त आदेशपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरी काम गरिरहेको छ ।

Adv footer