
बिर्तामोड, चैत ४ । झापाका दुईवटा कम्पनीविरुद्ध विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।
नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै दुईवटा बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेको उद्योग विभागले जनाएको छ ।
भिडियो कलिङ एप ‘जुम’ (जुम कम्युनिकेसन्स, अमेरिका) ले झापाको कविस मार्केटिङ प्रालिले उत्पादन गरेको ‘कविस जुम कस्मेटिक्स’ विरुद्ध ट्रेडमार्क चोरीको दाबी गरेको छ ।
त्यस्तै, जर्मनीको प्रख्यात लक्जरी ब्रान्ड ह्युगो बोसले झापाकै इमानुर फेसन वेयर इन्डस्ट्रिजविरुद्ध ‘बास’ ट्रेडमार्क प्रयोग गरेकोमा उजुरी दिएको छ ।
यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै जवाफ नफर्काएका यी उद्योग तथा कम्पनीलाई विभागले अहिले फेरि ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेर अल्टिमेटम दिएको छ ।
विभागका अनुसार ट्रेडमार्क दाबी विरोध गर्दै उजुरी परेका ती उद्योग तथा कम्पनीहरूलाई यसअघि नै ‘संक्षिप्त कार्यविधि ऐन २०२८’ बमोजिम उजुरीको प्रतिलिपिसहित म्याद सूचना पठाइएको थियो ।
तर, उनीहरूले हालसम्म कुनै पनि लिखित प्रतिक्रिया पेस नगरेको र म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशन गर्नुपरेको जनाएको छ ।
सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र कानुन शाखामा आइपुग्ने गरी लिखित जवाफ नआएमा कानुन बमोजिम एकतर्फी कारबाही अघि बढ्ने कडा चेतावनी विभागले दिएको छ ।




