
बिर्तामोड, चैत ५ । झापा दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० वर्षीय न्यौपाने कमलनगर जेसिजका संस्थापक अध्यक्ष हुन् ।
प्रहरीका अनुसार न्यौपानेको शव आज विहान गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ स्थित कुञ्जीबारी बजारमा भेटिएको हो । उनी झुन्डिएको अवस्थामा भेटिएका थिए ।
दमकदेखि करिब ३० किलोमिटर दक्षिणमा रहेको कुञजीबारीमा हिजो खेती हेर्न गएका उनी झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सडक विभाग कार्यालयअगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगञ्ज–१ स्थित सीमा प्रहरी बेस क्याम्प पूर्वतर्फको बगान क्षेत्रमा हिलाम्मे शरीरसहित सानो रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
हिलाम्मे अवस्था र मोटरसाइकल घटनास्थलबाट टाढा रहेको पाइएकाले पनि घटना शंकास्पद रहेको न्यौपाने परिवारको भनाइ छ । प्रहरीले शवको कानुनी मचुल्का उठाएर पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ ।





