
बिर्तामोड, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले करिब ५ लाख मूल्य बराबरको अवैध कपडासहित दुईवटा अटो र तिनका चालकलाई नियन्त्रणमा लिएको छ।
आज राति २ बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सूचनाका आधारमा उक्त कपडा बरामद गरेको हो।
शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका मे १ ह ६३५५ र मे १ ह ७२९४ नम्बरका दुईवटा टेम्पो ९अटो० लाई शंका लागेर जाँच गर्दा अवैध रूपमा भित्र्याइएका पर्दा, साडी, कुर्ता सुरुवाल र ढाकाका कपडाहरू फेला परेका हुन्।
प्रहरीले अटो चालकद्वय मेचीनगर नगरपालिका–७ बस्ने सुबिन्द्र जोगी र भोजपुर घर भई हाल मेचीनगर–७ मै बस्ने भीमदल राईलाई नियन्त्रणमा लिएको छ।
बरामद गरिएका कपडा र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।





