२०८२ चैत्र ८ आइतबार
Jhapa Today
Adv top

महासंघका उपाध्यक्षको उम्मेदवारी शुल्क ३ लाख


बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरूका लागि मनोनयन शुल्क तोकिएको छ ।

महासंघको निर्वाचन २०८२ चैत २९ र ३० गते हुँदैछ । महासंघको १५ औँ कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार निर्वाचनको कार्यतालिका र साधारणसभासम्बन्धी सूचना जारी गरिएको हो ।

जसअनुसार उपाध्यक्ष पदको उम्मेदवार बन्न ३ लाख रुपैयाँ र कार्यकारिणी समिति सदस्य पदको उम्मेदवार बन्न १ लाख रुपैयाँ मनोनयन शुल्क लाग्नेछ ।

उम्मेदवारी फिर्ता लिएको खण्डमा उक्त मनोनयन शुल्क फिर्ता नहुने महासंघले स्पष्ट पारेको छ । उम्मेदवार मनोनयन गर्न इच्छुक सदस्य संघसंस्थाहरूले आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्कसहित मनोनयन पत्र चैत २२ गते साँझ ५ बजेभित्र महासंघको सचिवालय टेकुमा दर्ता गराइसक्नु पर्नेछ ।

इमेलबाट कागजात पठाउनेले चैत २६ गते साँझ ५ बजेभित्र सक्कल कागजात सचिवालयमा बुझाइसक्नु पर्नेछ, अन्यथा मनोनयन स्वतः बदर हुने सर्कुलरमा बताइएको छ ।

त्यस्तै, साधारणसभामा भाग लिनका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ प्रतिनिधि शुल्क तोकिएको छ । एकपटक तोकिएको प्रतिनिधिसँगै शुल्क बुझाइसकेपछि पुनः प्रतिनिधिको नाम परिवर्तन गर्नुपरेमा थप १ हजार रुपैयाँ लाग्नेछ ।

महासंघको साधारणसभामा मतदान गर्न र भाग लिन जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघमा मुख्य प्रतिनिधिसहित ३ जना, वस्तुगत संघमा मुख्य प्रतिनिधिसहित २ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा मुख्य प्रतिनिधि १ जना र एसोसिएट सदस्यमा मुख्य प्रतिनिधि १ जना जानुपर्नेछ ।

निर्वाचनमा खडा हुने उम्मेदवारलाई भने सम्बन्धित संघ वा संस्थाले अनिवार्य रूपमा प्रतिनिधि मण्डलमा समावेश गर्नुपर्नेछ ।

महासंघका अनुसार चैत २९ गते आइतबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा साधारण सभाको समुद्घाटन हुनेछ ।

बन्दसत्र लगायतका कार्यक्रम सोही होटलमा हुनेछन् भने निर्वाचनसम्बन्धी कार्यक्रम चैत ३० गते सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ ।

Adv footer