
बिर्तामोड, चैत ८ । झापाको बुद्धशान्ति–४ टिमाईस्थित कमल खड्काको मकैबारीमा रहेको घाइते चितुवालाई उद्धार गर्ने क्रममा सशस्त्र प्रहरीसहित चारजना घाइते भएका छन् ।
चितुवालाई नियन्त्रणमा लिन खोज्दा बिच्किएको चितुवाले आक्रमण गर्दा घटनास्थल सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठको अनुहार, हातखुट्टा, कान र बायाँ पाखुरालगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।
त्यस्तै, बुद्धशान्ति–६ बस्ने ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर–१० का वडा सदस्य २६ वर्षीय विशाल कार्कीलाई समेत चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।
घाइते चारैजनाको भागिरथा न्यौपाने अस्पताल बुद्धशान्तिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चतुवाले स्थानीयबासीलाई समेत आक्रमण गर्न थालेपछि कुटिपिट गर्दा चितुवाको मृत्यु भएको छ ।
चितुवालाई आक्रोसित स्थानीयबासीले ढुंगाले हानेर मारेका हुन् । आज बिहान चितुवा देखिएको एकजना स्कुल बसका चालकले जानकारी गराएका थिए ।
त्यसपछि चितुवा हेर्न ठुलो भीड लागेको थियो । डिभिजन वन कार्यालय झापाबाट चितुवालाई नियन्त्रणमा लिन नसकेपछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली मगाइएको थियो ।




