
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोडमा आफ्नै नाबालक छोरालाई मरणासन्न हुनेगरी पिट्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने बिर्तामोड-५ बस्ने २५ वर्षीया सुमित्रा लामगादे रहेकी छन् ।
उनले छोरालाई चक्कु र ब्लेड प्रयोग गरेर यातना दिने गरेको पाइएको छ । बिर्तामोड नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको टोलीले बलाकको उद्धार गरेको हो ।
शनिबार दिउँसो ४ बजे सुमित्राले आफ्ना छोरा रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेकी थिइन् । रुक्सनको शरीरको विभिन्न भागमा निलडाम तथा चोट लागेको छ ।
उनको शरीरमा चोट र निलडाम देखेपछि हिजो बिहान ११ बजे उनी पढ्ने सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो ।
त्यसपछि प्रहरी टोली खटिएर कुटपिट गर्ने आमा सुमित्रालाई नियन्त्रणमा लिएको हो । घाइते बालकलाई हजुरबुबाको साथमा उपचारको लागि आशा मेडिकल पठाइएको छ ।
आमा सुमित्रालाई क्षितिज सुधारकेन्द्रमा राखिएको प्रहरीले जनाएको छ । सुमित्राले मदिरा सेवन गरेर छोरालाई कुटपटि गर्ने गरेको प्रहरीको भनाइ छ ।




