२०८२ चैत्र १० मंगलबार
Jhapa Today
Adv top

हिरासतबाट छुटाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ


बिर्तामोड,चैत १० । लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दमक वडा नम्बर ९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय सुमन खड्का रहेका छन्।

फागुन २५ गते कमल गाउँपालिका वडा नम्बर ६ बाट अवैध लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने प्रलोभन देखाई दनुवार र खड्काले लक्ष्मणका दाजु रामप्रसाद राजवंशीबाट १ लाख ५० हजार रुपैयाँ लगेका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई चैत ८ गते पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसूरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Adv footer