
बिर्तामोड, चैत १२ । यो साताको अन्तिममा पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर, पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् । ताजा उपग्रह तस्बिरमा भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिन्छ । त्यसको असर नेपालमा पनि पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद बिनु महर्जन बिहीबारदेखि नै त्यसको असरको संकेत देखिन थाल्ने बताउँछिन् । उनका अनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
प्रिमनसुनको समय भएकाले यतिबेला हावाहुरी चल्ने र चट्याङका घटना बढी हुने भएकाले सतर्कता अपनाउन उनले सुझाव दिइन् ।
आगामी दिनमा भित्रिन लागेको नयाँ प्रणालीले हावाहुरी, असिना, पानी र हिमपात हुने सम्भावना छ । साथै, चिसो पनि महसुस हुनेछ । मौसमविद डा. विनोद पोखरेलका अनुसार अहिलेको प्रणालीले पश्चिम तराईमा वर्षाको सम्भावना अलि थोरै भए पनि अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने राम्रो सम्भावना छ ।
चैत ६ र ७ गतेको भन्दा यो प्रणाली कम शक्तिशाली हुने ठानिएको छ । शुक्रबार र शनिबार हुने वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना देखिएको उनको भनाइ छ । तर हावाहुरीको प्रभाव भने पश्चिममा बढी र पूर्वमा कम हुने सम्भावना छ ।




