
बिर्तामोड, चैत १२ । गत भदौ २३ र २४ गते जेनजीको नाममा भएको विध्वंशका कारण झापाको बिर्तामोडलगायत क्षेत्र निक्कै प्रभावित बने । झापाका सहर र गाउँमा करोडौँको भौतिक संरचना जल्यो ।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदनअनुसार झापामा तीनजनाको मृत्यु भएको छ ।
आन्दोलनले सबैभन्दा उग्ररूप लिएको झापाको बिर्तामोडमा भएको झडपमा हिलिहाङ–२ पाँचथरका ३० वर्षीय कमल भण्डारी र झापा अर्जुनधारा–११ का ३९ वर्षीय गोपाल सेढाईंको भदौ २४ गते मृत्यु भयो भने अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशीको भदौ २७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

आयोगको प्रतिवेदनमा उल्लेख भएका झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको बयान र स्थलगत तथ्यका आधारमा विस्तृत रिपोर्ट तयार पारिएको छ ।
झापामा हतियार लुटियो र प्रहरीमाथि नै प्रहार भयो
झापाको अवस्था अझै डरलाग्दो र युद्धग्रस्त जस्तो थियो । भदौ २३ गते दमक र बिर्तामोडबाट सुरु भएको प्रदर्शनले छिटै हिंसात्मक रूप लियो । बिहान १०ः३५ बजे दमकमा प्रदर्शनमा निस्किएका करिब २ सय जनाको समूहले दमक नगरपालिकाको गेट र सिसिटिभी क्यामेरा तोडफोड गरेर हिंसाको सुरुवात गरेका थिए ।
त्यसैगरी, बिर्तामोडमा मुक्तिचोक नजिक जम्मा भएका करिब ५५० जनाको भिड हेर्दाहेर्दै ५ हजारको हाराहारीमा पुग्यो । उनीहरूले बिर्तामोड नगरपालिका कार्यालयमा ढुंगामुढा गरी झ्यालका सिसा फुटाउने र उपमेयर तथा कर्मचारीलाई बाहिर निस्किन समेत नदिई बन्धक बनाउने प्रयास गरे ।
झापाको घटनाको सबैभन्दा गम्भीर पाटो भनेको आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको घुसपैठ थियो । उनीहरूले नै प्रहरीमाथि नै सांघातिक आक्रमण गरी हतियार लुट्नु र उल्टै प्रहरीमाथि गोली चलाएका थिए ।
‘प्रहरी अन्यत्र व्यस्त भएको मौका छोपी इलाका प्रहरी कार्यालय, दमकमा आएको अराजक समूहले प्रहरीमाथि निर्घात आक्रमण गरी प्रहरीका हतियार, गोलीगट्ठा र बन्दोबस्तीका सामान तथा पोशाक समेत लुटेर लगेको । ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडमा आगजनी गराउनुका साथै ग्याँस सिलिण्डरहरू समेत विष्फोट गराएको … लुटिएका हतियारबाट आन्दोलनकारीबाट फायरिङ समेत गरिएको,’ प्रतिवेदनमा भनिएको छ ।
अत्यधिक भिडका कारण थप सुरक्षाकर्मी र अश्रुग्यास सेल पठाउन सक्ने अवस्था समेत नभएको प्रशासनले दिएको जवाफ पनि प्रतिवेदनमा उल्लेख छ ।
रहस्यमय मृत्यु: कसको गोली लाग्यो ?
झापामा मृत्यु भएका कमल भण्डारी, गोपाल सेढाईं र दिनेश राजवंशीको मृत्युको कारण अझै पूर्ण रूपमा स्पष्ट छैन । उनीहरूको मृत्यु प्रहरीको गोलीबाट भयो वा लुटिएको हतियार बोकेका घुसपैठियाको गोलीबाट ? आयोग स्वयम यसमा अन्योलमा छ ।
‘मृतकमध्ये कोही उक्त घटनामा परेका पनि हुनसक्ने, साथै हतियार लुटेर लगेको समूहबाट गोली प्रहारसमेत भएको हुनसक्ने । बिर्तामोडमा उपचार रहेका घाइतेहरूमध्ये ३ जनाको मृत्यु भएको छ । ती कहाँको घटनामा घाइते भएका थिए भन्ने स्पष्ट नभएको । साथै, गोली लागेकाहरूलाई पनि कसले गोली हानेको थियो भन्ने यकिन गर्न भने नसकिएको,’ प्रतिवेदनमा भनिएको छ ।
झापामा मात्रै भदौ २३ र २४ गते नेपाल प्रहरीबाट ४१६ राउण्ड र सशस्त्र प्रहरीबाट १२ राउण्ड गरी जम्मा ४२८ राउण्ड हवाई÷लाइभ फायर भएको थियो । ४२० सेल अश्रुग्यास प्रहार भएको थियो ।
आयोगले झापामा आन्दोलन उग्र हुनुमा स्थानीय राजनीतिक खिचातानीलाई प्रमुख कारण मानेको छ । विशेषगरी बिर्तामोड नगरपालिकामा उपमेयर र वडा नम्बर ८ का वडा अध्यक्षबीचको विवाद तथा दमक नगरपालिकाभित्रको राजनीतिक खिचातानीको रिसइबी साट्न यो आन्दोलनलाई हतियार बनाइएको र लागुऔषध सेवनकर्ता, बेरोजगार व्यक्ति, असन्तुष्ट विचौलिया र राजनीतिक दलका कार्यकर्ताहरूको ठुलो संलग्नता रहेको प्रतिवेदनमा औँल्याइएको छ ।




