२०८२ चैत्र १२ बिहीबार
Jhapa Today
Adv top

बाह्रदशीमा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम


बिर्तामोड, चैत १२ । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई स्थानीय तहसम्म संस्थागत गर्दै लैजाने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले स्वास्थ्य तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा आयोजकले गरेको छ ।

आइतबारबाट सुरु भएको तालिम कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, विभिन्न शाखाका कर्मचारी तथा अन्य सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तालिममा सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धनसँग सम्बन्धित विषयहरूमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासमार्फत दक्ष बनाइएको नेदरल्यान्ड गैरसरकारी विकास संस्था एसएनभी नेपालका प्रशिक्षक मदनकुमार खरेलले जानकारी दिए ।

उनका अनुसार तालिमले सहभागीहरूलाई प्रशिक्षकका रूपमा विकास गरी उनीहरूमार्फत समुदायमा व्यवहार परिवर्तनको सन्देश प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

तालिममा विशेषगरी पूर्ण सरसफाइ, सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय स्वच्छता, स्वास्थ्य व्यवहार परिवर्तन, समुदाय परिचालन लगायतका विषयहरू समेटिनेछन् ।

सहभागीहरूले सिकेका ज्ञान तथा सीपलाई आआफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायमा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा योजना शाखा प्रमुख तेज रेग्मीले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी व्यवहार परिवर्तन गर्न सबैले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

तालिम कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई गाउँपालिकाले प्रमाणपत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा विकास साझेदार संस्थाहरूको सहकार्य रहेको छ ।

Adv footer