२०८२ चैत्र १३ शुक्रबार
Jhapa Today
Adv top

आजदेखि फेरि वर्षा हुँदै


बिर्तामोड, चैत १३ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए ।

बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ ।

महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरी÷असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यो बेलामा हुरी बतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।

Adv footer