
बिर्तामोड, चैत १३ । प्रहरीले झापाको भद्रपुरस्थित सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब २० ग्राम लागुऔषध ब्राउन सुगरसहित भारतीय नागरिकलाई आज पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत बिहारस्थित ठाकुरगञ्ज बस्ने ३७ वर्षीय बेचन यादव रहेका छन् । आज दिउँसो ३ बजे भद्रपुर-६ गिरीचोकका सोभित यादवको घरबाट उनलाई पक्राउ गरिएको हो ।

बेचन केही समयदेखि सोभितको घरमा भाडामा बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घरको कम्पाउन्डमा लुकाएर इँटाको चाङमुनि राखिएको २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेपछि बेचनलाई पक्राउ गरेर अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।




