२०८२ चैत्र १५ आइतबार
Jhapa Today
Adv top

झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग


बिर्तामोड, चैत १५ । हरेक वर्ष बाढी, आँधी र असिना जस्ता प्राकृतिक प्रकोपको मारमा पर्दै आएका किसानहरुले झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गरी ‘किसान पुन:स्थापना कोष’ स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ ।

झापा गाउँपालिका क्षेत्रभित्र प्राकृतिक प्रकोपका कारण व्यावसायिक कृषि क्षेत्रमा ठूलो क्षति पुग्दै आएको छ । विशेषगरी व्यावसायिक केरा खेती, धान, मकै र तरकारी खेतीमा पटक–पटक बाढी, डुबान, हावाहुरी तथा असिना पानीले लाखौं नोक्सानी पुर्‍याउँदै आएको छ ।

‘हावाहुरी, असिना, बाढी, डुबान लगायतका कारण किसानहरूको उत्पादन, आम्दानी तथा लगानीमा प्रत्यक्ष असर पारेको छ । यस्ता प्राकृतिक प्रकोपले किसानहरू आर्थिक रूपमा कमजोर बन्दै गएर कृषि क्षेत्र नै जोखिममा परेको छ,’ झापा गाउँपालिकाका युवा किसान चन्द्रबहादुर बस्नेतले भने, ‘यस परिस्थितिलाई मध्यनजर गर्दै झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गरी किसानहरूको संरक्षण, पुन:स्थापना तथा कृषि उत्पादनलाई दिगो बनाउन आवश्यक कदम चालिनु अत्यन्त जरुरी भएको छ ।’

किसानहरुले प्रभावित किसानहरूलाई राहत तथा अनुदान, विशेष कृषि बीमा तथा संरक्षण कार्यक्रम लगायतका माग गरेका छन् ।

झापा गाउँपालिकाका किसानहरुले आफ्ना माग कृषि मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कोशी प्रदेश सरकार र झापा गाउँपालिका समक्ष राखेका छन् ।

झापा गाउँपालिकाका किसानहरुका माग यस्ता छन् – 

१. झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गरियोस् ।

२. व्यावसायिक केरा खेती तथा मकै खेतीमा भएको क्षतिको यथार्थ तथ्यांक संकलन गरियोस् ।

३. कृषि ज्ञान केन्द्र झापा लगायत सम्पूर्ण जिल्लाका ज्ञान केन्द्रहरुले यसअघि संकलन गरेको प्राकृतिक प्रकोपबाट भएको नोक्सानी, क्षतिको  तत्काल सम्बोधन गरियोस् ।

४. किसान पुन:स्थापना कोष स्थापना गरी प्रभावित किसानहरूलाई राहत तथा प्रोत्साहन उपलब्ध गराइयोस् ।

५. हावाहुरी तथा असिनाबाट हुने क्षति न्यूनीकरणका लागि विशेष कृषि बीमा तथा संरक्षण कार्यक्रम लागू गरियोस् ।

६. व्यावसायिक कृषि क्षेत्रको संरक्षणका लागि तत्काल राहत, अनुदान तथा पुनर्निर्माण कार्यक्रम सञ्चालन गरियोस् ।

Adv footer