२०८२ चैत्र १६ सोमबार
Jhapa Today
Adv top

झापाका तीन पालिकाले सुरु गरे मालपोतको काम


बिर्तामोड, चैत १६ । झापाका तीनवटा पालिकाले मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र मेचीनगर नगरपालिकाले मालपोतसम्बन्धी प्रारम्भिक सेवा सुरु गरेका हुन् ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले जिल्लाको १० वटा स्थानीय तह हेर्दै आएको थियो । अब छिट्टै अन्य पाँचवटा पालिकामा सेवा विस्तार गरिने भूमिसुधार तथा मालपोत कार्यालय झापाले जनाएको छ ।

जग्गाधनी, ऋणी, रोक्का गर्ने निकायको उपस्थितिलाई मालपोतसम्मै आएर गर्नुपर्ने बाध्यतको अन्त्यका लागि माघको दोस्रो हप्ताबाट स्थानीय तहबाटै मालपोत सम्बन्धी सेवा सुरु गरिएको भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका सुचना अधिकारी मोहनसिंह दर्जीले जानकारी दिए ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो अभ्यास स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ ।

यस सेवाबाट सेवाग्राहीलाई सहजता हुने, समय र खर्चको बचत हुनुका साथै मालपोत सेवामा देखिँदै आएको समस्यामा कमी आउने विश्वास व्यक्त गरिएको छ ।

यो पहललाई संविधान २०७२ ले सुनिश्चित गरेको स्थानीय तहको अधिकार व्यवहारमा उतार्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ । यसले सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Adv footer