
बिर्तामोड, चैत १६ । झापाको कमल गाउँपालिकामा एकजना नवजात शिशु बेवारिसे अवस्थामा भेटिएकी छन् । उनको उद्दार गरेर उपचारका लागि दमक पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल-३ केर्खामा बच्चा जन्माएर मकैबारीमा फालिदिएकी हुन् । शिशुको आमाको खाजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
रातभरि मकैबारीमा रहेकी ती नवजात शिशु छोरी रहेको प्रहरीको भनाइ छ । उनलाई आज बिहान स्थानीयले उद्दार गरेका छन् । ती शिशुको अवस्था तत्काल सामान्य रहेको छ ।
आज बिहान ६ः१० बजे कमल-३ केर्खा बस्ने ४८ वर्षीय लीलाराज थापाको घरनजिकै रहेको करेसाबारीभित्र रहेको मकैबारीमा ती नवजात शिशुलाई फेला पारिएको थियो ।
थापाले आफ्नो मकैबारीमा बेवारिसे अवस्थामा शिशुलाई देखेर प्रहरीलाई खबर गरेका थिए । नाबालिका शिशुलाई स्थानीयबासीको सहयोगमा उद्दार गरी उपचारको लागि किओच बाल अस्पताल दमक पठाइएको छ ।




