
बिर्तामोड, चैत १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २३ औँ वार्षिक साधारणसभाको अवसरमा कर्मचारी र उपभोक्तालाई सम्मान गरेको छ ।
आज बिर्तामोडमा सम्पन्न साधारणसभामा उत्कृष्ट कर्मचारीका रुपमा पदमबहादुर गुरुङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । त्यस्तै, संस्थाको ज्येष्ठ सदस्यका रुपमा डिल्लीराम बस्नेत र चन्द्रमाया विक नगदसहित सम्मानित भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज बास्तोलालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल संस्थामा तीनवटा ओभरहेड ट्याङ्की, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लानट र ११ हजार उपभोक्ता रहेका छन् ।
अध्यक्ष बास्तोलाले संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न कठिनाई र चुनौतीका बीच पनि सकेसम्म समस्याको समाधान गर्दै आइरहेको बताए । उनले संस्थाले गरेका १४ बुँदे कार्ययोजना, ६ बुँदे समस्या तथा चुनौती र २३ बुँदे भावी योजनासमेत प्रस्तुत गरेका छन् ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले संस्थाको मेरुदण्ड भनेकै कर्मचारी भएको बताए । आफू नेतृत्वमा हुँदा सन् २०१८ र सन् २०२२ मा बिर्तामोड खानेपानी संस्था देशकै उत्कृष्ट भएको र त्यो कर्मचारीकै कारण भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराई, संस्थाका सल्लाहकार लोकबन्धु कन्दङवा, राजकुमार पोखरेललगायतले शुभकामना राखेका थिए ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए । कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक विष्णुप्रसाद चुडालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।




