
काँकरभिट्टा, चैत १६ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना व्यक्त गरेका थिए ।
त्यसक्रममा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ ।
वक्ताहरुले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि आचारसंहिताको पूर्णपालना, पत्रकारको क्षमता विकास लगायतका विषयमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लाका ६५ वर्षमाथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट २०८० सालदेखि ६५–७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार र सोभन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक २० हजार रकम औषधोपचार खर्चबापत प्रदान गरिँदै आएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा विषयकेन्द्रित अन्तरक्रिया गरिएको थियो । पूर्वअध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित संकल्पपत्र तयारी समितिले प्रस्ताव गरेको ११ बुँदे संकल्पपत्र सहभागीको सुझावका आधारमा संशोधनसहित पारित गरिएको थियो ।
संकल्प पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पत्रकारिताको स्वच्छता र व्यावसायीकरण, क्षमता विकास, जवाफदेहिता लगायतका विषय समेटिएको छ ।
उक्त समितिमा महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, महासंघका सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल रहेका थिए ।




