२०८२ चैत्र १७ मंगलबार
Jhapa Today
Adv top

कनकाईका ओलीको पहलमा विद्यार्थीलाई ४५ दिन निःशुल्क खाना


बिर्तामोड, चैत १७ । झापाको कनकाई–२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजाको व्यवस्था आजबाट अन्त्य गरिएको छ ।

चैत १९ गतेदेखि विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुने भएपछि आजबाट निःशुल्क खाना तथा खाजा खुवाउने कार्य अन्त्य गरिएको हो ।

आज एक कार्यक्रमका बीच विद्यालय परिसरमा विशेष भोज खुवाएर विद्यार्थीहरुको विदाइ गरिएको निःशुल्क खाना खुवाउँदै आएका स्थानीय सामाजिक अभियान्ता दिपक ओलीले जानकारी दिए ।

विद्यालयका एसइइको तयारीमा रहेका २२ जना विद्यार्थीलाई ओलीले विगत ४५ दिनयता निःशुल्क खाना र खाजाको व्यवस्था गर्दै आएका थिए । विदाइको बेला विद्यार्थीहरु ओलीसँग भावुक भएका थिए ।

एसइइको तयारीमा रहेका विद्यार्थीहरु बिहान ६ बजे नै विद्यालय आउने र घर पुगेर आउँदा पढाइमा असर पर्ने देखेर ओलीले विद्यालयमै आफ्नो एकल खर्चमा बिहानको खानाको व्यवस्था गरेका हुन् ।

ओलीले आफूले सुरुवात गरेको अभियानमा केही अभियानकर्मी र स्थानीयबासीले सहयोग गरेको बताए । उनको पहलमा विद्यालयको एक कोठामा विद्यार्थीलाई खाना खुवाउने कामको सुरुवात गरिएको थियो ।

केही विद्यार्थीका अभिभावक दैनिक ज्याला मजदुरीमा जाने भएकाले पनि ओलीले विद्यार्थीको सहजताका लागि एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव रहेका ओली लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव र पर्यटन मञ्च झापाका कार्यसमिति सदस्य हुन् । उनले अघि पनि सो विद्यालयका विद्यार्थीलाई ब्याग तथा न्यानो कपडा प्रदान गरिसकेका छन् ।

Adv footer