२०८२ चैत्र १९ बिहीबार
Jhapa Today
Adv top

अटिजम सचेतना दिवसः बालबालिकाको संख्या बढ्दै, छैन सेवा र नीति


बिर्तामोड, चैत १९ । झापाको बिर्तामोडमा आज १९ औँ विश्व अटिजम सचेतना दिवस मनाइएको छ । ‘अटिजम र मानवता ः हरेक जीवनको मुल्य छ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

नेपालमा अटिजम भएका बालबालिकाको अवस्था, सेवा पहुँच र नीतिगत व्यवस्थाबारे गम्भीर प्रश्नहरू उठिरहेका छन् । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) एक न्युरो–विकासात्मक अवस्था भएको र जसका कारण बालबालिकाको व्यवहार, सञ्चार क्षमता र सामाजिक अन्तरक्रियामा प्रभावित हुने झापामा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समान भविष्य फाउन्डेसन र न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालमा अटिजमसम्बन्धी चेतना विस्तार हुँदै गएको भए पनि पहिचान, सेवा र सहयोग प्रणाली अझै अपर्याप्त रहेको दिएको जानकारी दिइयो ।

करुणा फाउन्डेसन (२०२५) को तथ्यांकअनुसार झापा जिल्लामा अटिजम भएका बालबालिकाको संख्या २६१ जना पुरुष र ८५ जना महिला गरी ३४६ पुगेको एसएनजेडीका कार्यक्रम संयोजक तथा समान भविष्य फाउन्डेसनका सञ्चालक कुमार चुडालले जानकारी दिए ।

झापाका बिर्तामोड, अर्जुनधारा, मेचीनगर दमकमा अटिजम भएका बालबालिकाको संख्या उच्च देखिएको छ भने अन्य पालिकामा कम रहेको छ ।

हालसम्म अटिजमसम्बन्धी छुट्टै राष्ट्रिय नीति स्पष्ट रूपमा कार्यान्वयनमा नआउँदा बालबालिकाहरुको उचित शिक्षा र हेरचाहमा अभिभावकहरुले समस्या भोग्नु परिरहेको चुडालले जानकारी दिए ।

प्रारम्भिक पहिचान र निदानको अभाव, विशेषज्ञ सेवा तथा जनशक्ति कमी, समावेशी शिक्षा प्रणाली कमजोर, स्पिच तथा अकुपेशनल थेरापी सेवाको अभाव, सामाजिक कलंक र अभिभावकमा जानकारीको कमी, ग्रामीण क्षेत्रमा सेवा पहुँच अत्यन्त सीमित, सामाजिक सुरक्षा र सेवा प्रणाली अपूर्ण हुनु प्रमुख चुनौतीको रुपमा रहेको समान भविष्य फाउण्डेशनका सञ्चालक रञ्जन धमलाले जानकारी दिए ।

स्थानीय तहले बजेट र सेवा केन्द्र स्थापना गर्नुपर्ने, विद्यालयमा समावेशी शिक्षा प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य संस्थाले प्रारम्भिक स्क्रिनिङ र थेरापी सेवा विस्तार गर्नुपर्ने, अभिभावक समूह र समुदायमा सचेतना बढाउनुपर्नेमा उनीहरुले जोड दिए ।

निजी क्षेत्रबाट अटिजम भएका बालबालिकाका अभिभावकहरुले स्थापना गरेको नाफा वितरण नगर्ने समान भविष्य फाउन्डेसनले बिर्तामोड-४ मा समान भविष्य पूर्वप्राथमिक विद्यालय सञ्चालन गरिरहेको र हाल १२ जना विद्यार्थी अध्ययनरत रहेको सञ्चालक पुष्प खड्काले जानकारी दिए ।

Adv footer