२०८२ चैत्र २० शुक्रबार
Jhapa Today
Adv top

लागुऔषध कारोबारः भद्रपुर नाकाबाट दुई सातामा २५ जना पक्राउ


बिर्तामोड, चैत २० । लागुऔषध ब्राउन सुगरको मुख्य कारोबार थलोको रुपमा रहँदै आएको झापाको भद्रपुर नाकाबाट दैनिक औसत दुईजना पक्राउ पर्ने गरेका छन् ।

प्रहरीका अनुसार पछिल्लो दुई सातामा भद्रपुर नाकाबाट २५ जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । अरुतिर भन्दा सजिलो भएपछि झापाको भद्रपुरबाट लागुऔषध लिन जानेको भीड हुन थालेका छन् ।

पक्राउ परेकाहरुको साथबाट हालसम्म १२०.९७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । चैत ३ गते भद्रपुर ६ का श्रवण यादव, गणेश राजवंशी र प्रकाश राजवंशी ५०.४३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

सोही दिन भद्रपुर ६ कै शुभम साह, जयकरण कहार, दुलाल शेख र मोहमद अमिर १०.२ ग्राम ब्राउन सुगरसहित समातिएका थिए ।

चैत १२ गते पक्राउ परेका भारतीय नागरिक मोहम्मद जाबिर आलमको साथबाट ५.८९ ग्राम ब्राउन सुगर बरामद भयो भने सोही दिन नै रस्कु मुर्मु, अजय ऋषिदेव र सरोज कार्कीलाई ३.२३ ग्राम तथा दिपेश राजवंशीलाई १.७१ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लियो ।

चैत १३ गते वेचन यादव २१.८९ ग्राम, चैत १४ गते शिव गिरी ३.६३ ग्राम, सन्दिप उप्रेती ५.४३ ग्राम, चैत १६ गते स्माइल कार्की १.३१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

चैत १७ गते भद्रपुर ८ का सन्दिप राजवंशी, प्रविण राई र भद्रपुर ९ का रेशल खड्का ३.३६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्दा सोही दिन भद्रपुर ९ का होमनारायण राजवंशी, मेचीनगर १२ का सन्तोष लिम्बु र अर्जुनधारा ११ का पुजनकुमार खनाल ५.२७ ग्राम ब्राउन सुगरसहित समातिएका थिए ।

चैत १८ गते हल्दिबारी २ का राजीव राजवंशी ३.२६ ग्राम, सोही ठाउँका शिवप्रसाद चौलागाईं २.७७ ग्राम र भारतका अमर कुमार २.५९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

भद्रपुरको मेची पुल तर्नेबित्तिकै गलगलियामा सजिलै लागुऔषध किन्न पाइन्छ । गलगलियाको रेल्वे लाइननजिक लागुऔषध बेच्ने पसलहरु रहेको बताइन्छ ।

Adv footer