
भद्रपुर, चैत २० । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
प्रतियोगिता हुने भद्रपुरको मेची रंगशालामा आज आयोजक चन्द्रगढी युवा क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार रकम पाउने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।
त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ । त्यस्तै, उपविजेताको पुरस्कार रकम सजिलो नेटले उपलब्ध गराउने भएको छ । भद्रपुर नगरपालिका र सम्पूर्ण वडा कार्यालयहरुले प्रतियोगितालाई सहयोग गरेका छन् ।
चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८३ बैशाख ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सुब्बाले बताए । प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी एफसी, नेपाल एपिएफ एफसी र नेपाल पुलिस क्लब तथा चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ ।
त्यस्तै, भारतको रानी लक्ष्मीबाई स्पोट्र्स एकेडेमी, भुटानको थिम्पु सिटी एफसी तथा बाँकी दुई टिम एसियन मुलुकका क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सुब्बाले जानकारी दिए ।
महिला खेलाडीलाई प्रोत्सहान गर्दै झापामा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो ।
झापालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि मेची रंगशालाको निर्माण तथा स्तरोन्नित धमाधम भइरहेको छ । पक्की प्यारापिटमा दर्शक क्षमता कम हुने आँकलन गरेर बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।




