२०८२ चैत्र २५ बुधबार
Jhapa Today
Adv top

अर्जुनधारामा यु-१३ इन्डो-नेपाल क्रिकेट हुने


बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक अर्जुनधाराकै नवनीत एकेडेमी (बोस्टन स्कुल) रहेको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २७ गतेदेखि १२ दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै भारतको कोलकाता र पटनाबाट आएका दुई टोलीसहित कुल १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन गरिनेछ, जसअनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले समूह चरणमा चार–चार खेल खेल्नेछन् र अंकका आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलबाट उत्कृष्ट दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, लिग चरणमा प्लेयर अफ द म्याचलाई १ हजार, सेमिफाइनलमा २ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको उत्कृष्ट बलर, ब्याटर र विकेट किपरलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख २३ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । सहआयोजक बोस्टन क्रिकेट एकेडेमीका सञ्चालक विनित बास्तोलाले यस्तो प्रतियोगिताले बाल खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने र प्रतिभा पहिचानमा टेवा पुग्ने बताए ।

नगरप्रमुख बलदेवसिंह गोम्देनले खेलकुदमार्फत पनि भविष्य निर्माण गर्न सकिने सम्भावना बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

वडा नम्बर १० का अध्यक्ष खगेन्द्र इङनाम र वडा नम्बर ६ का अध्यक्ष हरिसचन्द्र बास्तोलाले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव खगेन्द्र लिङदेनले सञ्चालन गरेका थिए भने सदस्य तिलक योञ्जनले स्वागत मन्तव्य राखेका थिए ।

Adv footer