बिर्तामोड, चैत २५ । चौथो संस्करणको बुट्टाबारी गोल्डकप फुटबल प्रतियोगिता २०८३ बैशाख ५ गतेदेखि हुने भएको छ । झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित हरियाली वनमा हुनेछ ।

प्रतियोगिता तयारीबारे आयोजक बुट्टाबारी युनाइटेड क्लबले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार प्रतियोगितामा भारतको एक र नेपालका सात टोली सहभागी हुनेछन् ।

सहभागी टोलीहरूमा आयोजक बुट्टाबारी युनाइटेड, रेडहर्स इलाम, तरञ्जुबारी फुटबल क्लब (सिलिगुढी) भारत, ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफसी झापा, फेयर फुटबल क्लब धरान–सुनसरी, बेलबारी फुटबल क्लब मोरङ र बगान युथ क्लब कचनकवल रहेको क्लबका अध्यक्ष प्रविण राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २ हजार २ सय रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही नगद १० हजार र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।

कार्यक्रममा खेलतालिका पनि सार्वजनिक गरिएको छ । खेलतालिकाअनुसार उद्घाटन खेल बैशाख ५ गते आयोजक बुट्टाबारी युनाइटेड र तरञ्जुबारी फुटबल क्लब (भारत) बीच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल बैशाख १२ गते हुनेछ । प्रतियोगिताको अनुमानित बजेट २१ लाख ६३ हजार ३३३ रूपैयाँ रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने सचिव टिकाराम विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।




