
बिर्तामोड, चैत २७ । सरकारले २०८३ सालको नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन बैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी सबै स्थानीय तह र विद्यालयहरूलाई नयाँ शैक्षिक तालिकाअनुसार अघि बढ्न निर्देशन दिएको हो ।
केन्द्रका अनुसार विद्यार्थी भर्ना अभियान बैशाख १५ गतेदेखि सुरु हुनेछ भने त्यसको एक हप्तापछि अर्थात् बैशाख २१ गतेदेखि मात्रै विद्यालयहरूमा नियमित कक्षा सञ्चालन हुनेछन् ।

सरकारले २०८२ चैत २३ गतेदेखि लागु हुनेगरी सबै सरकारी कार्यालय र शिक्षण संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शैक्षिक सत्रको समयतालिकामा पनि केही परिवर्तन गरिएको हो ।

सोही परिवर्तित बिदाको व्यवस्थाअनुसार विद्यालयहरूलाई आफ्नो वार्षिक कार्यतालिका तयार गरी कार्यान्वयन गर्न केन्द्रले सूचित गरेको छ ।
नयाँ सत्रको पठनपाठन सुरु हुनुअघि बैशाख २ गतेदेखि नै विद्यालयहरूले विभिन्न पूर्वतयारीका कार्यहरू गर्नुपर्नेछ । यस अवधिमा विद्यालयको वार्षिक कार्ययोजना निर्माण, शैक्षणिक योजना तयारी, विद्यालय सुधार योजना अद्यावधिक र शिक्षकहरूको पेसागत क्षमता विकास जस्ता रचनात्मक एवं प्रवर्धनात्मक शैक्षिक गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिइएको छ ।




