
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारामा आजदेखि इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अर्जुनधारा–बोस्टन र मिलन क्रिकेट एकाडेमी काँकरभिट्टा खेल्नेछन् ।
प्रतियोगिताअन्तर्गत प्रत्येक दिन दुईवटा खेल सञ्चालन हुनेछन् । आज नै दोस्रो खेलमा लायन्स क्रिकेट एकाडेमी विराटनगर र आस्था क्रिकेट एकाडेमी दमक आमनेसामने हुनेछन् । प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को मापदण्डअनुसार सञ्चालन गरिने जनाइएको छ ।

अर्जुनधारा–९ को नमुना खेल मैदानमा हुने प्रतियोगिता १२ दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपालका ८ टोली र भारतको कोलकाता र पटनाबाट आएका दुई टोलीसहित कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकेडेमी (बोस्टन स्कुल) रहेको छ ।

प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन हुनेछ, जसअनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले समूह चरणमा चार–चार खेल खेल्नेछन् र अंकका आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनलबाट उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिग चरणमा प्लेयर अफ द म्याचलाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।




