
बिर्तामोड, चैत २७ । नेपाल पर्यटन बोर्ड र काँकरभिट्टास्थित पर्यटन कार्यालयले संयुक्त रूपमा आयोजना गरेको “सीमापार पर्यटन सम्मेलन झापा–२०२६“ को तेस्रो संस्करणले सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई सुदृढ पार्न जोड दिएको छ ।
आज आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन विस्तार गर्न व्यावहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवद्र्धनको आवश्यकतामाथि प्रकाश पारेका थिए । प्रमुख अतिथि तथा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले प्रदेशको प्रवर्द्धनमा सीमापार पर्यटनले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

उनले झापालाई पर्यटन केन्द्रको रूपमा विकास गर्न सेवा सुधार, आकर्षक प्याकेज र नीतिगत सुधार आवश्यक पर्ने कुरामा जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले यस सम्मेलनको निरन्तरताले पर्यटनको विकेन्द्रीकरणमा मद्दत गरेको उल्लेख गरे । शर्माले राष्ट्रिय योजना आयोगको योजनामा सीमापार पर्यटनलाई समावेश गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
काँकरभिट्टा अध्यागमन कार्यालय प्रमुख तुलसी भट्टराईले सीमा पार गर्ने सुविधा प्रदान गर्न अध्यागमन कार्यालय सधैं तयार रहेको बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सहकार्यको महत्वमा जोड दिँदै सरोकारवालाहरूले सीमापार पर्यटन बुझ्न ढिलो गरेको उल्लेख गरे । उनले भारतीय पर्यटकहरू नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गरे ।
भारतको हिमालयन हस्पिटालिटी एन्ड टुरिजम डेभलेपमेन्ट नेटवर्क (एचएचटिडिएन) का महासचिव सम्राट सन्यालले नेपाल र भारतले संयुक्त रूपमा पर्यटन उत्पादनहरू विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले दुवै देशले सीमा आवागमनलाई सहज बनाउन र नीतिगत अवरोधहरू हटाउन सहकार्य गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बिहार, सिक्किम, र पश्चिम बंगाल (भारत) र कोशी प्रदेश (नेपाल) मा पर्यटन सम्भावनाको बारेमा भिडियो प्रस्तुतीकरणहरू प्रस्तुत गरिएको थियो ।
त्यस्तै, “सीमापार पर्यटनः अवसर र चुनौतीहरू“ विषयक अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, एचएचटिडिएनका महासचिव सम्राट सन्याल र पर्यटन उद्यमी केसरी गुरुङ र पर्यटन मञ्च झापाका सहसचिव आकाश श्रेष्ठले छलफल गरेका थिए ।

छलफलको क्रममा, निर्माणाधीन एसियाली राजमार्ग सञ्जाललाई क्षेत्रीय सम्पर्क विस्तारको लागि ’खेल परिवर्तनकर्ता’ पूर्वाधारको रूपमा वर्णन गरिएको थियो, जसको प्रभावकारी प्रयोगले नेपाल–भारत पर्यटन प्रवाहमा गुणात्मक वृद्धि ल्याउने विश्वास गरिएको थियो ।
सम्मेलनमा एचएचटिडिएन र नेपालको मञ्चबीच पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन र दिगो पर्यटन विकासको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर र आदानप्रदान गरियो । कार्यक्रममा भारतका ६० पर्यटन उद्यमीहरूको सहभागिता थियो ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष ऋषिराज तिम्सिना, पर्यटन अधिकृत निरोज कट्टेललगायतले द्विदेशीय पर्यटनको सम्भावनाबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका सचिव नविन खरेलले गरेका थिए ।




