
बिर्तामोड, चैत २७ । बोस्टन क्रिकेट एकाडेमीले १४३ रनको फराकिलो जित निकाल्दै अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टाको मिलन क्रिकेट एकाडेमीलाई पराजित गर्दै बोस्टनले शानदार जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि कप्तान एनोक राईले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा १०३ रनको शतकीय पारी खेले । उनी खेलको प्लेयर अफ द म्याच भए । प्रत्यक्ष बास्तोलाले २६ बलमा ४४ रनको योगदान दिए ।


जवाफी ब्याटिङमा उत्रिएको मिलन क्रिकेट एकाडेमी १३.१ ओभरमा ७४ रनमा समेटियो । उसका लागि शुभम सर्दनले १५ र निरज भट्टराईले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बोस्टनका पीयूष राजवंशी र इन्दिप बस्नेतले समान २–२ विकेट लिए ।
आज भएको दोस्रो खेलमा धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीलाई ८७ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो ।
टस जितेर ब्याटिङ रोजेको सरस्वतीले ६ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । उसका लागि निजल राईले ३५ तथा कुश साहले २८ रनको योगदान गरे । आस्थाका रुविन भण्डारीले ३ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याएको आस्था एकाडेमी १२.२ ओभरमा ६२ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । सरस्वतीका अनुराग आचार्यले ४ तथा कुश साहले २ विकेट लिए । कुश साह प्लेयर अफ द म्याच भए ।
प्रतियोगितामा नेपालका ८ तथा भारतको कोलकाता र पटनाका २ टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजित टोलीहरूले समूह चरणमा चार–चार खेल खेल्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकाडेमी हो ।
अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी लाक्पा लामा, बोस्टन क्रिकेट एकाडेमीका सञ्चालक विनित बास्तोलालगायतको उपस्थिति रहेको थियो ।




