
बिर्तामोड, चैत २८ । विभिन्न शीर्षकमा लाग्नेभन्दा बढी शुल्क लिएपछि झापा दमकमा सञ्चालित एक कोरियन भाषा पढाउने कन्सल्टेन्सीविरुद्ध उजुरी परेको छ ।
विद्यार्थीलाई कोरिया पठाउने नाममा आवश्यक शुल्कभन्दा बढी रकम लिएको भन्दै दमकमा सञ्चालित फुजिसान एकेडेमी कन्सल्टेन्सीविरुद्ध उजुरी दिएका हुन् ।

कोरियास्थित नेपाली राजदूतावासमार्फत विद्यार्थीहरुले आफूहरूलाई कोरिया पठाउने कन्सल्टेन्सी फुजिसानविरुद्ध उजुरी दिएका हुन् ।

राजदूतावासमार्फत विद्यार्थीले दिएको उजुरी परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पुगेपछि मन्त्रालयले आवश्यक छलफल गरिरहेको जानकारी दिएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव सेमन्त कोइरालाका अनुसार कन्सल्टेन्सीका पदाधिकारीलाई बोलाई आवश्यक छानबिन गर्ने काम भइरहेको छ । उनीहरूले आवश्यक लागतभन्दा १० लाखसम्म बढी शुल्क लिएको उल्लेख गरेका छन् ।
शिक्षा मन्त्रालयका अनुसार विभिन्न कन्सल्टेन्सीले पौने एक अर्ब रुपैयाँ ठगी गरेको आरोप छ । विभिन्न कन्सलटेन्सीले विद्यार्थीबाट ७५ करोड ४१ लाख रकम ठगी गरेको पाइएको उजुरीमा उल्लेख छ ।
विद्यार्थी भिसा डी २ र डी ४ मा गएका विद्यार्थीबाट कन्सल्टेन्सीले मनलाग्दी रकम लिएको विद्यार्थीले उजुरीमा उल्लेख गरेका छन् ।




