
बिर्तामोड,चैत २९। मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ धाईजनमा आज तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा प्र १–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले १७ः१० बजे मृत घोषणा गरेका थिए।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ८९८७ र सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको श्रेष्ठको मोटरसाइकल धाईजन खण्डमा एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अन्य दुई मोटरसाइकलमा सवार चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा धरान–१५का २७ वर्षीया मनी कुमार देवान, इटहरी–५का २७ वर्षीया अनिष बस्नेत, इटहरी–५ का २९ वर्षीया नन्द बहादुर मगर र इटहरी–१७ का २९ वर्षीया कमल मगर रहेका छन् ।
घाइते चारै जनाको बिर्तामोडस्थित स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।




