२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

साता नबित्दै मच्छिन्द्र र आर्मी भिड्दै


झापा । एक साता नबित्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले एकअर्काको सामना गर्दैछन् । झापाको झिलझिलेस्थित गणेशमानसिंह स्मृति प्रतिष्ठान रंगशालामा जारी साताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज यी दुई टोलीले एकअर्काको सामना गर्दैछन् ।
भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ ले हराउँदै आर्मी सेमिफाइनल पुगेको थियो । मच्छिन्द्र गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले नै पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । आजको विजेताले फाइनलमा लिगको चौथो टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टार आयोजक टोलीलाई हराउँदै बिहीबार फाइनल पुगेको थियो ।
शनिबार मात्र मच्छिन्द्र र आर्मीबीच त्रिुपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको अन्तिम खेल भएको थियो । त्यो खेल १–० ले जित्दै मच्छिन्द्र पहिलोपटक लिग च्याम्पियन बनेको थियो । बराबरी गर्दा लिग जित्ने मौकालाई पनि आर्मीले उपयोग गर्न सकेन र दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । आर्मी लिग उपाधिको नजिक पुगेर दोस्रो पटक विमुख भएको हो ।
२०६३ मा पनि आर्मी उपाधिको नजिक पुगेको थियो । अहिले जस्तै त्यति बेला पनि अन्तिम खेल बराबरी गर्दा लिग च्याम्पियन बन्ने अवस्था थियो । तर, अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित हुँदै आर्मी दोस्रो स्थानमा सीमित भएको थियो । त्यति बेला आर्मीलाई हराउँदै पुलिस भने पहिलोपटक लिग च्याम्पियन बनेको थियो ।
२०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको आर्मीले अहिलेसम्म लिग जितेको छैन । एक साता नबित्दै आर्मीले पुनः मच्छिन्द्रको सामना गर्दा कस्तो नतिजा निस्केला फुटबलप्रेमीलाई पक्कै चासो रहनेछ । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना जारी सताक्षी गोल्डकपको विजेताले उपाधिसहित ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer