२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को परीक्षाः एक बेन्च एक परीक्षार्थी


बिर्तामोड, साउन २१ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एक बेन्च एक परीक्षार्थी

बोर्डले यसपटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागु गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिने छैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ । यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताए ।

सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ ।

केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने बताइएको छ । यस वर्ष सय पूर्णांक रहने गरी नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको छ ।

गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer