बिर्तामोड, कात्तिक १७ । बंगलादेशमा जारी १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।
मंगबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समयअनुसार दिउँसो ०४ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशले भुटानलाई ८–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् । टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उनको भनाइ छ ।
च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार ढाका पुगेको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी ३ देश सहभागी छन् ।
नेपालले पर्सि १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ ।
डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।