२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दै


मेचीनगर, साउन ९ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ तीन वर्षअघि स्थापना भएको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (बहुप्राविधिक शिक्षालय) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित शिक्षालयमा सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधिको ३ वर्षे डिप्लोमा तहका विषयको अध्ययन हुँदै आएको छ ।

शिक्षालयमा तीनै विषयको अध्ययन हुन थालेपछि यस क्षेत्रका अभिभावक मात्रै होइन सो विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि उत्साहित छन् । धुलाबारी क्याम्पसको हाताभित्र रहेको शिक्षालयले उत्कृष्ट जनशक्ति उत्पादन गर्दै आएको छ ।

सो शिक्षालयमा झापा, इलामदेखि जुम्ला जिल्लाका करिब २०० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । शिक्षालयमा हाल तीनवटै विषयका विद्यार्थीहरुले पाँचौँ सेमिस्टारको अध्ययन गरिरहेको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले जानकारी दिए ।

छैटौँँ सेमिस्टारपछि विद्यार्थीहरुले अध्ययन पूरा गर्नेछन् । तेस्रो सेमिस्टारको परीक्षामा इन्स्टिच्युट कोशी प्रदेशकै उत्कृष्ट भएको मैनालीले बताए । शिक्षालयले विद्यार्थीहरुको लागि आवश्यक अत्याधुनिक प्रयोगशालाहरु, इ–बोर्ड, पुस्तकालयहरुको व्यवस्था गरेको छ ।

प्रिन्सिपल मैनालीले तीन वटै कार्यक्रममा ४८/४८/४८ जना विद्यार्थीको कोटा रहेको बताए । प्राविधिक शिक्षामा सरकारी विद्यालयबाट एसइइमा १ दशमलव ६ जिपिए ल्याउँदा डिप्लोमा तहसम्म अध्ययन गर्न पाइन्छ ।

विद्यार्थीहरुले बिई अध्ययन गर्न सक्ने छन् भने पाँचौँ तहको सरकारी जागिरका लागि लोकसेवा परीक्षामा सहभागी हुन पाउने छन् ।

तीनै विषयको पढाइ शुल्क १ लाख ९० हजार रुपैयाँ छ भने भर्ना शुल्क ४० हजार लाग्ने बताइएको छ । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यार्थीहरुलाई भर्नामा २० हजार छुट हुने मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer