

बिर्तामोड, साउन ११ । छात्रावृत्तिको विवरण नबुझाउने संस्थागत विद्यालयलाई बिर्तामोड नगरपालिकाले कारबाही गर्ने भएको छ ।
नगरभित्र सञ्चालित १२ वटा संस्थागत विद्यालयले हालसम्म पनि विवरण नबुझाएपछि नगरको शिक्षा शाखाले सूचना निकालेर कारबाही गर्ने बताएको हो ।

नगरपालिकाको शिक्षा शाखाले छात्रावृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारबाही हुने जनाएको छ ।

छात्रावृत्ति विवरण नबुझाउनेमा बिर्तामोड १० को विराटअर्जुन इङलिस स्कुल, बिर्तामोड ५ को मिडिल प्वाइन्ट इङलिस स्कुल, बिर्तामोड–३ को नवोदय फनमिन इङलिस स्कुल, बिर्तामोड १० सिद्धार्थ शिशु सदन, बिर्तामोड–१ को हिमरेस एजुकेसन एकेडेमी, बिर्तामोड–८ को सनराइज एजुकेसन फाउन्डेसन रहेका छन् ।

त्यस्तै, बिर्तामोड–४ को बेबी ल्यान्ड इङलिस स्कुल, बिर्तामोड–२ को मंगलदिप एलाइट इङलिस स्कुल, बिर्तामोड ५ को हेप्पी किड्स इङलिस स्कुल, बिर्तामोड–४ को ग्रिनउड इङलिस स्कुल, बिर्तामोड–१ को प्राग्ना इङलिस स्कुल र बिर्तामोड–६ को बिर्ता एजुकेसन इङलिस स्कुल रहेका छन् ।

नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रावृत्तिको विवरण बुझाउन सूचना निकाले पनि अटेर गरेपछि कारबाहीको चेतावनीसहितको अर्को सूचना जारी गरिएको छ ।

सात दिने म्याद सकिएपछि नगरपालिका कारबाहीको प्रक्रियामा जाने बताइएको छ । बिर्तामोड नगरमा ५८ वटा संस्थागत विद्यालयमध्ये ४६ वटाले छात्रावृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।


