बिर्तामोड, साउन १४ । झापाको बिर्तामोडमा सञ्चालित न्युटन्स एजुकेसन एकेडेमीले कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ ।
विद्यालयले अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका र कक्षा १२ प्रवेश गरेका विद्यार्थीहरुलाई अभिमुखीकरणसहित स्वागत गरेको हो ।
विद्यालयकी संस्थापक तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईंको अध्यक्षतामा भएको विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बिर्तामोड–५ का वडा सदस्य ओमभक्त सेडाईंको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयको अनुशासन र नियमका बारेमा अभिभावक तथा विद्यार्थीलाई जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका व्यवस्थापक आशिष प्रसाईं, विद्यालयका प्लसटु को–अर्डिनेटर केवल सापकोटा, प्लसटुका फिजिक्स शिक्षक लक्ष्मण गुरुङ, लेखा शाखाका खगेन्द्र कोइरालाले विद्यालयको अवस्था, पठन–पाठनलगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सेडाईं र अभिभावकका तर्फबाट राजेन्द्र चम्लागाईंले आआफ्नो धारणा व्यक्त गरेका थिए । स्वागत विद्यालय इन्चार्ज नोयल परेराले गरेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् ।