बिर्तामोड, साउन २४ । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग (कन्जक्टिभाटस) तीव्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि, नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने पुष्टि भइसकेको छैन ।
आइफ्लु हुँदा चिकित्सकले बिरामीलाई आराम गर्न सुझाव दिएका हुन्छन् । त्यस्तो बेला आफूलाई व्यस्त राख्न स्मार्टफोन वा कम्प्युटरको बढी प्रयोग हुन्छ । तर, आइफ्लु हुँदा स्मार्टफोन वा कम्प्युटरमा स्क्रिन टाइम बिताउनु कत्तिको उपयुक्त हुन्छ ? चिकित्सकहरु भरसक नचलाउँदा नै राम्रो हुने सुझाव दिन्छन् ।
यो बेला जतिसक्दो स्क्रिन टाइम घटाउनुपर्ने, र सकेसम्म जति कम हेरियो वा जति हेरिएन त्यति नै चाँडो आँखा निको हुने हुन्छ । जति चाँडो आँखा पाक्ने रोग सन्चो हुन्छ, त्यति नै आँखामा इन्फेक्सन हुने जोखिम कम हुन्छ ।
आई फ्लु हुँदा आँखा सुन्निन्छ । आँखा सुन्निएको अवस्थामा बिरामीलाई हेर्न सकस परिरहेको हुन्छ । त्यस्तो अवस्थामा पनि ब्राइटनेस आवश्यकभन्दा बढी वा कम बनाउँदा आँखालाई बढी चाप पर्छ । आँखालाई बढी चाप परेको छ भने ढिलो सन्चो हुन्छ । त्यसैले भरसक एक हप्तादेखि १० दिनसम्म फोन वा कम्प्युटरबाट टाढै रहनुपर्छ ।
तर, प्रयोग गर्नै पर्ने अवस्था छ भने स्मार्टफोन वा कम्प्युटरमा हुने ‘आइ कम्फर्ट मोड’ मा प्रयोग गर्न सकिन्छ । कृत्रिम प्रकाशभन्दा प्राकृतिक प्रकाशमा रहेर काम गर्दा आँखालाई कम चाप पर्ने हुन्छ ।
आँखा पाक्ने रोग आँखामा हेर्दैमा सर्दैन । तर, जब बिरामी भएको व्यक्तिले आँखामा छोएर कतै हात राखेको छ र अर्को स्वस्थ व्यक्तिले त्यही हात लिएर आँखामा हात लगाएको छ भने त्यस्तो अवस्थामा सर्छ । त्यसैले, आफूले प्रयोग गर्ने स्मार्टफोन वा कम्प्युटर जन्य डिभाइसहरू अलग्याएर राख्नुपर्छ ।
आइफ्लु हुँदा आँखालाई बढी आराम दिनुपर्छ । मौसमी रुघाखोकी लागेजस्तै आँखालाई आइफ्लु लागेको हो । रुघाखोकी लाग्दा जति आराम ग¥यो, त्यति नै छिटो सन्चो हुन्छ । त्यस्तै आँखा पाकेको छ भने पनि आँखाले आराम पाउनुपर्छ ।
Comments are closed