बिर्तामोड, बैशाख २९ । नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए । यसको आधार थियो– उनीहरूले उत्पीडनमा परेका महिला, जातजाति तथा बालबालिकाको अधिकार र सुरक्षाका लागि भिन्नै काम गर्नु । जुन विश्वमै उदाहरणीय काम बन्यो ।
हाल प्रतिनिधिसभाकी उपसभामुख झापा अर्जुनधाराकी ५३ वर्षीय इन्दिरा रानामगर कर्मद्वारा छाप छोड्ने महिला हुन् । कुनै बेला स्कुल जान नपाएकी रानामगर अहिले पाठ्यपुस्तकमै पढिन्छिन् र संसद्मा बैठक सञ्चालन गर्छिन् ।
‘आफैँ पाठ्यक्रम बनूँला भन्ने त कत्ति पनि सोचेकी थिइनँ,’ प्रतिनिधिसभाकी उपसभामुख राना मगरले भनिन् ।
रानामगरले सन् २००५ मा विश्व चर्चित ‘अशोका फेलो’, सन् २००९ मा ‘एसिया जनसेवा अवार्ड’, सन् २०१४ मा वल्र्ड चिल्ड्रेन जनसेवा अवार्ड’ प्राप्त गरिन् । त्यसैगरी सन् २०१७ मा बिबिसीले विश्वको सिर्जनशील महिलाहरूको सूचीमा रानाको नाम समेटेको थियो ।
यी उपाधि तथा पुरस्कारहरू रानामगरले जेलका कैदीबन्दी, उनीहरूको बालबालिकाको संरक्षण र अधिकारको क्षेत्रमा पु¥याएको योगदानबापत दिइएको हो । मगरले ओशाका फेलोमार्फत नै विश्वका धेरै देशमा पुगेर कैदीबन्दी बालअधिकारका बारेमा प्रस्तुति दिइसकेकी छिन् ।
२०२७ सालमा झापाको शनिश्चरेमा जन्मिएकी मगरको सिंगो जीवन संघर्षमय छ । सानो छँदा दाइहरू स्कुल जान्थे । उनी घाँसदाउराको काम गर्थिन् । इन्दिरा दाइहरू स्कुल गएको दृश्य हेरिरहन्थिन् ।
दाइहरूले पढेको सुनेकोभरमा अक्षर चिनेकी मगरलाई भेट्न हस्त परियार भन्ने प्रधानाध्यापक घरमा पुगेका थिए । उनले सरलाई म स्कुल नगए पनि पढ्न सक्छु ? भनेर सोधिन् । यो सुनेका प्रधानाध्यापकले १२ वर्षको उमेर हुँदा शनिश्चरेको महारानीगञ्ज स्कुलमा कक्षा ४ मा भर्ना गरिदिए । २०४५ सालमा एसएलसी गरेपछि आइए झापामै पढिन् ।
२०४७ सालमा उच्च शिक्षाका लागि काठमाडौँ प्रवेश गरिन् । जागिर खाँदै पढाइमा निरन्तर दिइन् । जागिरको सिलसिलामा पारिजातकी बहिनीको विद्यालयमा पुगिन् । त्यहीँ पारिजातसँग भेट भयो । पारिजात ह्युरिन नामक मानव अधिकारवादी संस्थाकी उपाध्यक्ष थिइन् । मगर त्यही संस्थाको सदस्य बनेर राजनीतिक बन्दीहरूको अधिकारको माग गर्थिन् ।
जेलमा आमाबुबासँगै जेल जीवन बिताएका बालबालिका देखेपछि त्योे दिन उनलाई दुःख लाग्यो । ‘मभन्दा पीडित त बालबालिका पोे रहेछन् भन्ने लाग्यो’, पुराना दिन सम्झेर भनिन् । त्यसपछि सन् २००० मा ‘बन्दी सहायता नेपाल’ संस्था खोलेर जेलका बालबालिकाका लागि समर्पित बनिन् । पैसा थिएन तर दुईवटा बच्चा लिएर हेरचाह सुरु गरिन् । उनले हालसम्म पाँच हजारभन्दा बढी बालबालिकाको हेरचाह तथा शिक्षामा योगदान गरिसकेकी छिन् ।
जेलका बच्चाहरू आफूसँग राख्ने मात्र नभएर उनीहरूलाई आमाबुबासँग भेट्न दिने काम गरिन् । यो काम विश्वभरि कतै भएको थिएन । नेपालमा केही बालगृहले बन्दीका बालबालिकालाई लिएपछि अविभावकसँग भेट्न प्रतिबन्ध लगाउँथे ।
यो कदम बालअधिकारविपरीत भएको रानामगर बताउँछिन् । ‘विश्वमै बन्दीका बालबालिकालाई अपराधी सरह व्यवहार गरिन्थ्यो या असहाय केन्द्रमा राखिन्थ्यो’, उनले भनिन् । हाल उनको संरक्षकत्वमा दुईवटा विद्यालय र १० वटा बालगृह सञ्चालनमा छन् ।
अहिले मगर प्रतिनिधिसभाको उपसभामुखको भूमिकामा छिन् । समाजलाई बदल्ने मुख्य बिन्दु राजनीति भएकाले अबको यात्रामा नेपाललाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लाग्ने बताउँछिन् ।
‘नीतिगत भ्रष्टाचारकोे अन्त्यका लागि नीति बनाउँछु, त्यसपछि जनताको शिक्षा र स्वास्थ्यमा लगानी गर्छौं,’ उनले भने । परिवर्तनका लागि जोखिमपूर्ण यात्रा आवश्यक भएकाले आफूले जोखिमका बाटाहरू हिँडिरहेको बताउँछिन् ।
‘अन्धकारमा पाइला नहाली जीवनमा क्रान्ति आउँदैन, अहिलेको परिवर्तन क्रान्तिकारी पाइला नै थियो,’ उनले भनिन् ।
-नागरिकन्युजबाट साभार