२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शून्य लगानीको पशु बीमाबाट शिवसताक्षीका कृषक लाभान्वित


दमक, असार १२ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठगबस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका पशु प्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् ।

‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा पहेलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्, ‘छिमेकीलाई सोधेँ मेरो गाईको कानमा कसले ‘टप’ लगाईदियो ?’ छिमेकीले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो’ भने । रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् ।

गएको कात्तिकमा बीमा गरेको गाई मर्यो । स्थानीय पशु प्राविधिक प्रेम पौडेल गाई मरेको घरमा पुगे । उनले मरेको गाईको बारेमा चाहेको जानकारी धनीसँग लिए ।

‘फोटो खिचेर फेसबुकमा हाल्ने यस्तै प्रचार गर्ने होला भन्ने ठानेको थिएँ,’ रामकुमारीले भनिन्, ‘गएको माघ अन्तिममा ५० हजार घरैमा ल्याईदिनु भयो । पैसा थापेपछि मरेको गाईको पनि पैसा पाईदो रहेछ भन्ने अनि थाहा पाएँ ।’

सरकारले दिएको रकमले फेरि गाई किन्ने उनले बताइन् । अब किनेको गाईको बीमा आफैँले गर्ने उनले सुनाइन् । वडा अध्यक्ष खुलालका हरेक योजनाले आफूजस्तै विपन्न परिवारलाई छुने गरेको उनले बताइन् ।

रामकुमारीजस्तै करिब २ सय घर परिवारले वडाबाट शून्य लगानीमा पशु बीमा गरेका छन् । २०७६ सालदेखि वडाले यो कार्यक्रम सुरु गरेको हो ।

पहिलो वर्ष पशु बीमाका लागि २ लाख र त्यसपछिका दुई वर्ष १ लाख ५० हजारका दरले वडामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा पनि ७५ हजारको कार्यक्रम वडामा सञ्चालनमा छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी बिर्तामोडका वरिष्ठ विकास अधिकारी लक्ष्मी नेपालका अनुसार गत वर्ष शिवसताक्षी ६ मा २५४ गाईको बीमा गरिएको थियो । तीमध्ये ८ वटा विभिन्न कारणले मरेका र तिनको मृत्यु दाबी भुक्तानी किसानले पाएको उनले बताए ।

आदिवासी जनजातिको बाहुल्यता रहेको मानवबस्तीमा बीमा कार्यक्रम निक्कै प्रभावकारी बनेको पशु प्राविधिक प्रेम पौडेलले बताए । उनका अनुसार वडाको यो कार्यक्रम नगरमै प्रभावकारी देखिएको छ ।

मरेका पशुको बीमा बराबरको रकम घरैमा ल्याएपछि सो वडामा पशु बीमा कार्यक्रम निकै प्रभावकारी हुन थालेको छ । किसानले आफैँ पनि पशुको बीमा गर्न थालेका छन् ।

बुधबार पनि वडाका विभिन्न टोलमा पुगेर वडा अध्यक्ष कार्की र महिला वडा सदस्य गोमा रिजालले विपन्न किसानका गाईको बीमा गरिदिएका छन् । वडाले बीमा गरेपछि किसानले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

Adv footer