बिर्तामोड, साउन १४ । झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजना नवआगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस विषयका १०० विद्यार्थी र अभिभावकलाई कलेजको नियम तथा कलेजमा हुने विभिन्न क्रियाकलापका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कलेजले गर्दै आएको लागुऔषधविरुद्धको अभियान, जनचेतना कार्यक्रम ‘असत्य मार्ग’ प्रस्तुत गरिएको थियो । कलेजका संस्थापक तथा डाइरेक्टर सञ्जोग खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरेलले कलेजको विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नीति तथा नियमका बारेमा कलेजका विद्यार्थी व्यवस्थापन प्रमुख यज्ञराज कडरियाले जानकारी गराएका थिए ।
कलेजका तालिम विभाग प्रमुख दिपक दासले स्वागत गरेको कार्यक्रममा लागुऔषधबारे सचेतनाबारे रिबिर्थ सेन्टरका सञ्चालक राजु गिरीले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी युना भट्टराई र सन्ध्या गुरुङले गरेका थिए ।