मेचीनगर, साउन २१ । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको छ ।
नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो ।
तथ्यांकअनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकामा बसाइँ सरेर आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् ।
नगरमा सबैभन्दा ६ नम्बर वडामा बढी बसाइँ सरेर आउने गरेका छन् । वडामा बसाइँ आउनेको संख्या २६८ परिवार रहेको छ । ८०८ जना सदस्य रहेका छन् ।
त्यसैगरी सबैभन्दा कम बसाइँ आउने वडाको रूपमा वडा नम्बर १ रहेको छ । उक्त वडामा बसाइँ आउने ५८ परिवारका १९८ जना सदस्य छन् ।
त्यस्तै, विगत तीन वर्षको अवधिमा नगरबाट सबैभन्दा बढी वडा नम्बर ६ बाटै बसाइँ गएका छन् । उक्त वडाबाट १४१ परिवारका ४०८ जना सदस्यले मेचीनगर छाडेर अन्यत्र हुन् । त्यस्तै, सबैभन्दा कम वडा नम्बर १३ बाट ५१ परिवारका १४० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।