बिर्तामोड, साउन २८ । जंगली हात्तीको समस्या भोग्दै आएको झापामा पछिल्लो पाँच वर्षयता रैथाने हात्तीको संख्या झन्डै तेब्बर वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०–१२ वटा संख्यामा रहेको रैथाने हात्तीको संख्या हाल ३० वटाभन्दा धेरै छ ।
भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको उनको भनाइ छ ।
गत वर्ष सूक्ष्म रुपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या वृद्धि भएको पाइएको थियो । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेको हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।
झापाका १० हात्तीको नामाकरण
झापाका वनमा रहेका रैथाने हात्तीमध्ये १० वटाको नामाकरण समेत गरिएको छ ।
सुनौलो दाँते जग, घुमन्ते युवगज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामाकरण गरिएको छ ।
बढ्दै उपद्रो
हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडक लगायतका संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ ।
हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको छ । जिल्लामा धान, मकै लगायत बालीको खेती बढ्दै गएपछि हात्तीको उपद्रो पनि बढेको राईले बताए ।
हात्तीलाई जंगलभित्रै राख्ने प्रयास
हात्तीलाई वन–जंगल भित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् ।
जिल्लाका विभिन्न वन परिसरमा गत वर्ष मात्रै जंगलमा आ वटा हात्ती आहाल निर्माण गरिएको छ । वनहरुमा केराका बिरुवा समेत रोपिएको छ ।
वन क्षेत्रमा हात्तीले मन पराउने नौ हजार ९६९ वटा बाँस र छ हजारवटा हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।
१४ वर्षमा ६७ जना र २१ वटा हात्तीको मृत्यु
झापामा विगत १४ वर्षमा ६७ जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली रहेका छन् ।
सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।