मेचीनगर, साउन ३१ । पूर्वी नाका काँकरभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुला गरेसँगै पर्यटक आउने क्रम बढेको अध्यागमन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ जना पर्यटकहरुको आवागमन भएको छ । सोही अवधिमा १२३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने १०२ जना बर्हिगमन भएका छन् ।
कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचेजति आउन नसकेको जानकारी दिए ।
उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए । “यो नाकाबाट आउने पर्यटक धेरै बंगलादेशी हुन्छन्”, उनले भने, “आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाई गरिएको छ । त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।”
कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो ।
यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो ।
यो अवधिमा भूटानी, अमेरिका, स्विजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिया, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकहरुको आगमन भएको उनले बताए ।
-रासस