मेचीनगर, भदौ ७ । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीनजना सडक मानवको उद्धार गरिएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेलसहितको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई उद्धार गरिएको हो ।
विभिन्न कारणले बेवारिसे अवस्थामा रही अव्यवस्थित रूपमा कष्टकर जीवन व्यतित गरिरहेका मेचीनगर ७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगान नखुलेका चत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरिएको हो ।
उनीहरुलाई नगरप्रमुख, उपप्रमुखसहित होमनाथ तिमल्सिनाको नेतृत्वमा रहेको मानव सेवा आश्रमका टोलीले मानव सेवा आश्रम मेचीनगर ४ बाहुनडाँगीमा लगेका छन् ।
मेचीनगरसहित झापालाई सडकमानवमुक्त बनाउने अभियानअन्तर्गत मानव सेवा आश्रमलाई अगाडि सारिएको बताउँदै बुढाथोकीले अघिल्लो आर्थिक वर्षमा २५ लाख विनियोजन गरिएको जानकारी दिए । साथै, चालु आर्थिक वर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।