बिर्तामोड, भदौ १२ । पूर्वी तराईका अन्य बजारजस्तै एक समयको चल्ती बजारका रुपमा दक्षिणी झापाको भद्रपुरलाई मानिन्थ्यो । २००८ सालमै नगरपालिका बनेको भद्रपुर नेपालकै पुरानो नगर हो ।
धान चामल व्यवसायमा भद्रपुरको अलग्गै पहिचान थियो । यहाँ २०१६ सालदेखि चिया खेती पनि सुरु भयो । केही समय धान र चिया दुवै व्यवसायले सँगसँगै फष्टाउने मौका पाए ।
तर, राजा महेन्द्रले २०१९ सालमा पूर्वपश्चिम राजमार्गको शिलान्यास गरेसँगै पुरानो सहर भद्रपुर क्रमशः बिरानो हुँदै गयो र मानिसको ध्यान बिर्तामोडतिर सोझिन थाल्यो ।
तर, दक्षिणी तराईलाई जोड्ने हुलाकी राजमार्गको सुदूरपूर्वको प्रस्थान विन्दु पनि भद्रपुर भएकाले अहिले भद्रपुरको मुहार जस्तै फेरिन थालेको छ ।
कोशी प्रदेशका पूर्वप्रदेश सभा सदस्य एवम भद्रपुरका पुराना बासिन्दा ओमप्रकाश सरावगीका अनुसार भद्रपुरबाट सुरू हुने हुलाकी राजमार्गले जिल्लाको दक्षिणी भेगलाई जोड्दै पश्चिम तराईसम्म पुग्न सहज बनाएको छ ।
उनी भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग बनेपछि मानिस त्यतै धुरिए । अहिले देहातका बस्तीबाट हुलाकी बाटो छेउछाउ मानिसहरु बसाइँ आउन थालेका छन् । अब भद्रपुरलाई पनि केही समयपछि चहल–पहलयुक्त सहरका रुपमा देख्न सकिन्छ ।’
जाग्न थाल्यो ‘मणि हराएको’ गौरीगञ्ज
भद्रपुरजस्तै झापाकै पुरानो सीमावर्ती बजार गौरीगञ्जको कथा पनि उस्तै छ । एक समयको चहलपहलयुक्त गौरीगञ्ज पछिल्लो समय मणि निकालिएको सर्पजस्तै बनेको थियो । अहिले हुलाकी राजमार्गले गौरीगञ्जको प्राण भर्न थालेको छ ।
पूर्व–पश्चिम राजमार्ग बनेसँगै दमकमा नयाँ बजारको उदय भयो । मानिसहरूलाई पछ्याउँदै व्यापारीहरु पनि दक्षिणी बजार गौरीगञ्जलाई छाडेर राजमार्गकै छेउतिर सर्न थाले । कोही गौरादहतिरै रोकिए । यसले गर्दा भारतीय सीमा रहेको पुरानो सहर गौरीगञ्जको चमक–धमक हरायो ।
गौरीगञ्जमा होटल व्यवसाय गरिरहेका किशोरकुमार साहका अनुसार हुलाकी सडक बनेपछि गौरीगञ्जमा अहिले बसाइँ सरेर बाहिर जाने क्रम रोकिएको छ । अन्यत्र गएका मानिसहरु पनि गौरीगञ्जमै फर्किएर व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।
विगतमा किनबेच समेत नहुने अवस्थामा पुगेको गौरीगञ्जमा अहिले जग्गाको मूल्य आकाशिएको छ । जग्गा किनबेचको क्रम निकै बढेको छ । सामान्य बाटो चौडा राजमार्गमा बदलिएपछि छेउछाउका जग्गाको मूल्य आकाशिएको छ ।
बाटो बनेसँगै सुकेका सहरहरु अब फेरि ब्युँतिने प्रयासमा छन् । हुलाकी राजमार्ग बन्न थालेपछि तराईको दक्षिणी भेगमा आवागमनमा सजिलो भएको छ । यसले गर्दा व्यावसायिक हिसाबले ती ठाउँ सबल बन्दै गएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रभावकिरण राईका अनुसार झापा र मोरङअन्तर्गत १५ वटा प्याकेजमा काम भइरहेको छ । जसमा ९ प्याकेजअन्तर्गत सडक कालोपत्रे गर्ने काम र अन्य ६ वटा प्याकेजअन्तर्गत दुई जिल्लामा पर्ने खोलाहरुमा पुल निर्माणको काम भइरहेको छ ।
झापातर्फको कुल ८५ किलोमिटर हुलाकी सडक कालोपत्रे गर्नुपर्नेमा ८४ किलोमिटर कालोपत्रे भएको छ । मोरङतर्फ कुल ९६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा ५० किलोमिटर कालोपत्रे भएको इन्जिनियर राईले बताए ।
पुलतर्फ मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलाको पुल यही मंसिर महिनाभित्र बनाइसक्ने लक्ष्य रहेको राईले बताए । झापाको कनकाई पुलको काम भने अझै केही समय लाग्ने उनको भनाइ छ ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार यो राजमार्गको मेची–महाकालीसम्मको लम्बाइ ९७५ किलोमिटर रहेको छ ।
-खबरहबमा प्रकाशित सामग्री सम्पादन गरेर प्रकाशन गरिएको