२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा रात्रिकालीन होटल चलाउनेबारे छलफल


बिर्तामोड, भदौ ३१ । बिर्तामोडमा रात्रिकालीन होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाइने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

सोहीअनुरुप नगरपालिकाले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरेको हो ।

बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसी टिभी क्यामेराको मर्मत तथा आवश्यकताअनुसार थप जडान गर्ने निष्कर्ष निकालेको छ ।

बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग उद्योग वाणिज्य संघको आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालयले अगुवाई गर्ने, बिर्तामोडमा रहेका अन्य व्यापार व्यवसाय बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुलाई अनुरोध गर्ने, आपराधिक गतिविधि न्यूनीकरण र शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सुरक्षा योजना बनाई लागु गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड र मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडले ट्राफिक व्यवस्थापनको कार्ययोजना तयार गरी नगरपालिकामा पेश गर्ने र निर्णयहरु कार्यान्वयनमा सबै राजनीतिक दल तथा संघसंस्थाले आआफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउने निर्णय गरेको छ ।

बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाईं, सूर्यप्रसाद कन्दङ्वा, दुर्योधन गुरुङ, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्ट, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, उपभोक्ता जागरण अभियानका विशाल थापालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer